
काठमाडौँ, ३ चैत । मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा बहुमत प्राप्त गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले ३० हजार ३२८ मत प्राप्त गरेका छन् । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गरेका हुन्। उनीहरूको कुल मतभार ५२ हजार ६२८ छ। कुल मतभारतको बहुमत अर्थात २६ हजार ३१४ मतभारभन्दा बढी मतभार प्राप्त गरेर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।
बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको मतदानम ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।
नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झाले उम्मेदवार दिएका थिए।निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।
उनी गत मंसीर ४ गते बारा–२ बाट भएको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएको थिए। यादव प्रतिनिधि सभामा जसपा संसदीय दलको नेता पनि छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे