
काठमाडौँ, पुस १३ ।चीनले करिब साढे दुई वर्षे ‘अघोषित नाकाबन्दी’ तोड्दै नेपालतर्फको नाका खुला गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दोस्रो दिन मंगलबारदेखि चीनसँगको रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको हो।
कोभिड–१९ सुरु भएपछि ३० महिनाअघि चीनले आयातनिर्यातमा रोक लगाएको थियो। कोभिड घटेपछि आयात खुकुलो पारे पनि निर्यात भने ठप्प थियो। विगतमा कोभिडको कारण देखाउँदै निर्यात रोकेको चीनले अहिले त्यहाँ कोभिड संक्रमण बढिरहँदा निर्यातका लागि नाका खुला गरेको छ। जब कि कोभिड सुरु भएयता चीनमा संक्रमण दर अहिलेसम्मकै उच्च छ।
सरकारी अधिकारीले दाहाल प्रधानमन्त्री भएपछि निर्यात सुरु हुनुलाई संयोग माने पनि कूटनीतिक क्षेत्रका केही जानकारले भने यसलाई अर्थपूर्ण रूपमा लिएका छन्। ‘चीन नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्थ्यो,’ एक कूटनीतिज्ञले भने, ‘सुखद सन्देश दिन सामान निर्यात गर्न अनुमति दिएको हुनसक्छ।’ व्यापारीले चीनले आयात–निर्यातमा लगाएको रोकलाई ‘अघोषित नाकाबन्दी’ भन्दै आएका थिए।
प्रधानमन्त्री दाहालले शपथ लिएको भोलिपल्टै मंगलबार ६ वटा मालवाहक ट्रकमा सामान चीनतर्फ गएको छ। धेरै लामो समयपछि चीनतर्फ सामान निर्यात सुरु भएको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए। ‘चीनतर्फ नेपाली उत्पादन निर्यात भएको छ,’ भण्डारीले भने, ‘निर्यातले व्यापारघाटा कम गर्न सघाउ पुग्छ।’ चीनतर्फ मुडा, तामाका भाँडा, सजावटका सामग्रीलगायत सामान निर्यात भएको भन्सारले जनाएको छ। ‘एक दिनमै ५० लाख रूपैयाँ मूल्यको सामग्री निर्यात भयो,’ भन्सारप्रमुख भण्डारीले भने, ‘नियमित निर्यात भयो भने व्यापारघाटा कम गर्न सघाउ पुग्छ।’ यसले सकारात्मक सन्देश गएको उनले बताए।आजको नागरिक दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे