
काठमाडौँ, मङ्सिर १३ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने गरी बृहत् आर्थिक संरचनागत सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
राष्ट्र बैङ्कले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा आगामी नेतृत्वलाई बेलैमा सचेत गर्ने उद्देश्यले ‘आन्तरिक उत्पादन बढाउन बृहत् आर्थिक संरचनात्मक सुधार गर्नुपर्नेे’ सुझाव दिएको हो ।
सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहने केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले पछिल्लो आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्य चित्रित गर्दै अर्थतन्त्रको दिगो विकासका लागि यस्तो आवश्यकतामा जोड दिएको हो ।
“ब्याजदर न्यून राख्दा विदेशी विनिमय सञ्चिति र तरलताको स्थितिमा चाप पर्ने र उच्च राख्दा सरकारी वित्त व्यवस्थापन र उद्योग व्यवसाय प्रभावित हुनेस्थिति छ । आन्तरिक उत्पादन बढाउन बृहत् आर्थिक संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ,” केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
उपभोग, उत्पादन तथा सरकारी राजस्वको आयातमा बढ्दो निर्भरताले मुलुकको आन्तरिक उत्पादन प्रणाली कमजोर देखिएको राष्ट्र बैङ्कको ठहर छ । यही निर्भरताका कारण आन्तरिक र बाह्य सन्तुलन दिगो रूपमा कायम गर्न चुनौतीपूर्ण रहेको आकलन गर्दै आन्तरिक उत्पादन बढाउन बृहत् आर्थिक संरचनागत सुधारको खाँचो औँल्याइएको हो ।
अहिलेको अवस्थामा राष्ट्र बैङ्कले चाहेको मूल कुरा भनेको आन्तरिक उत्पादन वृद्धि नै रहेको राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदरलगायत अन्य वित्तीय उपकरण परिचालनबाट मात्रै दिगो समाधान आउँदैन भन्ने बुझेर नै हामीले बृहत् आर्थिक संरचनागत सुधारको कुरा उठाएका हौँ ।” आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे