सहरी युवा नाइट क्लबमा झुम्मिने गरेपछि ओलीले त्यहाँको मनोविज्ञानलाई आफ्नो पक्षमा पार्ने सन्देश दिएका थिए। उनले त्यहाँ आफ्नो बारेमा बनाइएको र्याप गीत सार्वजनिक गरेका थिए तर त्यो गीत युट्युबमा भने एक साताअघि नै सार्वजनिक भएको थियो। २०७४ को निर्वाचनमा ‘सही पनि एमाले मै पनि एमाले’ भन्ने गीत निकै लोकप्रिय भएको थियो। लोकगायक बद्री पंगेनीले गाएको सो गीतको लोकप्रियता कायमै रहेका बेला अहिले ‘सहर सहरमा ओली’ र्याप गीत बनाइएको हो।
ओली प्रायः राति ८ बजेपछि घरबाट बाहिर निस्कँदैनन्। तर त्यस दिन ओली आफैंले एलओडी जाने प्रस्ताव गरेपछि सुरक्षा व्यस्था मिलाएर त्यहाँ पुर्याइएको थियो। ओली जानुअघि नै एलओडी खचाखच भरिएको थियो। ओली अहिले जहाँ पुग्छन्, त्यहाँको दृश्यसहितका तस्बिर सामाजिक सञ्जालमा राख्छन्। त्यस दिन पनि ओलीले र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट्याएका थिए। ‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिएको, भारतद्वारा अतिक्रमित भूभाग नक्सामा राखेको, उनी राष्ट्रवादी नेता भएकोलगायत विषय समेटिएको छ।
पहिले पहिलेका चुनावमा प्रायः लोकदोहोरीमार्फत प्रचारप्रसार हुने गरेको भए पनि पछिल्लोपटक भने दलहरूले युवामाझ लोकप्रिय रहेका विधामा गीत बनाउन थालेका छन्। यसैलाई मनन गर्दै ओलीले र्याप गीत निकालेका हुन्। र्याप गीत निकाल्नुअघि ओलीले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।
संविधान दिवस असोज ३ मा वाकाथन गर्दै चुनावी सन्देश दिएका ओली कात्तिक १८ पछि देशभर एक्लै भाषण गर्दै हिँडेका छन्। ४० जिल्लाका ५५ निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्ने लक्ष्य राखेका ओलीले मंगलबार बिहान ललितपुरको सैंबु भैंसेपाटी क्षेत्रका नागरिक अगुवा तथा सो क्षेत्रमा बसोबास गर्ने सेलिब्रिटीसँग पदयात्रा गरेका छन्। आजको नागरिक दैनिकबाट








