
काठमाडौँ ,५ असोज | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। हिजो मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्। नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय सीमा असोज ४ गते मङ्गलबार राति १२ बजेसम्म रहेको थियो । नेपाल नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोस्रोपटक पठाएको हिजो १५ दिन भएको छ ।
संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले यो विधेयक पास गर्नुपर्छ । राष्ट्रपतिले उक्त विधेयकमा दोस्रो पटक पनि लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए ।राष्ट्रपति भण्डारीले पुनर्विचार आवश्यक रहेको भन्दै साउन २९ गते फिर्ता पठाएकी थिइन् ।
हिजो मङ्गलबार दिउँसो राष्ट्रपति भण्डारीले विभिन्न पक्षसँग परामर्श गरेकी थिइन । साँझसम्म पनि राष्ट्रपति भण्डारीले कानुनविद्हरूसँग छलफल गरेको र कानुनविद्हरूले राष्ट्रपतिलाई प्रतिनिधि सभाको कार्यकाल असोज १ गते नै सकिएकाले नागरिकता विधेयक पनि स्वतः निष्क्रिय हुने सुझाव दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे