२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, २६ जेठ । नेपालमा विप्रेषण आप्रवाह (रेमिटेन्स)मा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको जनाएको हो ।
यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे