
काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण नेपाल उच्च जोखिममा परेको मुलुकका रूपमा देखिएको छ । यद्यपि यस्तो जोखिम सामना गर्ने अनुकूलन क्षमता भने सीमित रहेको विभिन्न अध्ययनले औंल्याएका छन् । बाढी, पहिरो र हिमनदी पग्लिने घटनामा वृद्धि हुँदै जाँदा नेपाल विश्वका जोखिमयुक्त देशमध्ये पर्ने गरेको उल्लेख गरिएको छ ।
उपलब्ध सूचकाङ्कअनुसार सन् २०२२ मा जलवायु जोखिम सूचकमा नेपाल ७८औँ स्थानमा रहेको देखिएको छ । त्यस्तै सन् २०२५ को जलवायु वित्तीय जोखिम सूचकमा नेपालको अवस्था कमजोर रहँदै १८८ देशमध्ये १४१औँ स्थानमा परेको जनाइएको छ । यसले जलवायु परिवर्तनबाट हुने सम्भावित आर्थिक र सामाजिक असरलाई अझ गम्भीर बनाउने संकेत गरेको छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न र उत्थानशील अर्थतन्त्र निर्माणका लागि ठूलो मात्रामा लगानी र प्रभावकारी पूर्वतयारी आवश्यक छ । साथै विद्यमान सामाजिक तथा आर्थिक संरचनालाई जलवायु अनुकूल बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइएको छ ।
यसका साथै उपलब्ध अन्तर्राष्ट्रिय जलवायु वित्तलाई अधिकतम रूपमा उपयोग गर्न देशभित्रको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनसँग जुध्न दीर्घकालीन रणनीति, सुदृढ नीति तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे