२०८० मंसिर १४, बिहिबार
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने सम्भावना रहेको बताएका छन्। सामाजिक संजाल ट्वीटरमा एक पोस्ट गर्दै पुनले आफूले एक प्रतिशत सम्भवना भएको काममा सफलता हासिल गर्दै आएको बताउँदै अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको उल्लेख गरेका छन्। यो पोस्टबाट उनी राजनितिमा आउने संकेत गरेको बुझ्न सकिन्छ।
उनी लेख्छन्, ‘मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस्।’
उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरेका छन्। उनले यस्तो बताउनुको कारण भने गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई रहेको बताएका छन्।
उनले लेखेका छन् ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहीरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ।’
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।
१. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई स्कूल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाई स्कूल पढाए र म शिक्षक बनें ।
२. मैले ३१ बर्षको उमेर सम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ बर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ति लागेर ३४ बर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।
३. म अमेरिका बाट फर्केर नेपालमा बसुँला र गाउँ गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १% मात्र थियो होला । तर अमेरिका बाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ बर्ष भयो ।
४. वायरलेस प्रबिधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने सम्भावना १ प्रतिशत पनि थिएन । बिदेशी इन्जिनियरहरुको भनाई अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो ।
५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अबस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किन भने कुनै पनि सरकार, बैंक र दात्री संस्थाहरुले पटक्कै पत्याएनन । तर अहिले ता आम नागरीकको सहयोगले गर्दा चन्द्रमा सम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुर्याउने आँटछ ।
अन्तमा, मैले आम नागरीकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न । तर — अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरीकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला ।
दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आबश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिबहरुले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे