२०८० आश्विन १२, शुक्रबार
काठमाडौं– नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारणसभाले चन्द्र टण्डनलाई अध्यक्ष निर्वाचित गरेको छ । गत शुक्रबार संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले साबिकका उपाध्यक्ष टण्डनलाई अध्यक्ष चयन गरेको हो ।
टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका सञ्चालक हुन् । नवनिर्वाचित कार्यसमितिमा नेपाल रेमिट इन्टरनेसनल प्रालिका रितेश मित्तल उपाध्यक्ष, सूर्या रेमिट प्रालिका सञ्जय सिग्देल महासचिव, आइपे रेमिट प्रालिका ईन्द्रप्रसाद शर्मा कोषाध्यक्ष निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा इजिलिंक रेमिट्यान्स प्रालिका दिपेन्द्र खनाल चुनिएको संघले जनाएको छ । कार्यसमिति सदस्यमा क्यास वे मनी ट्रान्सफर प्रालिका प्रविन अधिकारी, जिएमई रेमिट प्रालिका दिवाकर पौडेल, एटिटी रेमिट प्रालिका सञ्जिव पाठक चयन भएका छन् ।
संघको विधानअनुसार हिमालयन बैंक लिमिटेडकी युमा श्रेष्ठ र प्रभु मनी ट्रान्सफर प्रालिका रामेश्वर सापकोटालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको संघले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्ने तथा सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । टण्डनले आइएमई र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दै उनको अथक मेहनत र प्रयासबाट नै रेमिट्यान्स यति ठूलो व्यवसायको क्षेत्र बनेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे