
काठमाडौं । नेपाल सरकारको वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको सरकारी खर्च तथा राजस्व विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार उक्त अवधिमा नेपाल सरकारको कुल खर्च १०५९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
विवरणअनुसार सो अवधिमा चालु खर्च ७४७ अर्ब ५२ करोड रुपैयाँ, पुँजीगत खर्च ९६ अर्ब २० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २१६ अर्ब २३ करोड रुपैयाँ रहेको छ । चालु खर्चमा १०.२ प्रतिशतले वृद्धि भएको देखिएको छ भने पुँजीगत खर्चमा ६.५ प्रतिशतले कमी आएको छ । वित्तीय व्यवस्था खर्चमा सामान्य ०.६ प्रतिशतले गिरावट आएको तथ्यांकमा उल्लेख छ ।
राजस्व परिचालनतर्फ समीक्षा अवधिमा कुल राजस्व ८८६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्व ७९८ अर्ब ७७ करोड रुपैयाँ र गैरकर राजस्व ८७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । कर राजस्व ७.३ प्रतिशतले वृद्धि भएको छ भने गैरकर राजस्वमा ०.३ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।
अघिल्ला आर्थिक वर्षहरूको तुलनामा समग्र सरकारी खर्च बढ्दै गएको देखिए पनि पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको तथ्यांकले देखाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे