
काठमाडौं । सरकारले पुँजी बजारमा संस्थागत लगानी विस्तार गर्दै गैरआवासीय नेपाली, निवृत्तिभरण कोष, बीमा क्षेत्र तथा सामूहिक लगानी कोषको सहभागिता बढाउने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिने बताएका हुन् ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पुँजी बजार सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । उनले धितोपत्र नियमन प्रणाली, नेपाल धितोपत्र बजार तथा कारोबार फर्छ्योट प्रणालीको पुनर्संरचना गरिने उल्लेख गरेका छन् ।
सरकारले दीर्घकालीन पुँजी निर्माणका लागि ऋण बजार, ऋणपत्र बजार तथा पूर्वाधार ऋणपत्रको विकासलाई समेत प्राथमिकता दिने जनाएको छ । यसबाट पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह बढ्ने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रममा निजी क्षेत्रको लगानी आकर्षित गर्दै वित्तीय बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने लक्ष्य पनि समेटिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे