
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो नाममा खासै सम्पत्ति नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही दिनभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन्।
साम्पाङका अनुसार उनका बाबुबाजेबाट आएको पैतृक सम्पत्ति अहिले आमाको नाममा रहेको छ। खोटाङको केपिलासगढी क्षेत्रमा रहेको उक्त सम्पत्तिमा पाखा, खरबारी, बाँस र उतीसका बोटसहित केही खेतीयोग्य जमिन रहेको उनले उल्लेख गरेका छन्। उनले त्यो जमिन गाउँको भिरालो क्षेत्रमा पर्ने पनि बताएका छन्।
उनले आफ्ना दाजुभाइ तथा दिदीबहिनीले समेत सो सम्पत्तिमा अंश नलिएको जानकारी दिएका छन्। आफू भने हालसम्म कुनै पनि सम्पत्ति आफ्नो नाममा नरहेको उनले स्पष्ट पारेका छन्।
साम्पाङले वैदेशिक रोजगारीका क्रममा कमाएर करिब चारदेखि पाँच तोलासम्म सुन जोडेको हुन सक्ने र बैंक खातामा झन्डै दुईदेखि चार लाख रुपैयाँजति बचत रहेको अनुमान गरेका छन्। उनले चाँडै सबै विवरण औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो नाममा उल्लेखनीय सम्पत्ति नभएको दोहोर्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे