
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भए पनि शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ भोग्दै आएका थिए। यही आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विद्यालयलाई पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ।
आयोजित कार्यक्रममा बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराएकोमा बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी र शिक्षकले स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्दै यसले विद्यालयमा स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले समुदायको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा बैंकका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। बैंकले सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे