
काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यम र प्रेस स्वतन्त्रतामाथि पछिल्ला घटनाक्रममार्फत दबाब सिर्जना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्ने चेतावनी दिएको विषयलाई असंवैधानिक तथा निन्दनीय व्यवहारको संज्ञा दिएको हो ।
महासंघद्वारा जारी वक्तव्यअनुसार वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद खरेलले सञ्चारमाध्यम बन्द गर्नेसम्मको अभिव्यक्ति दिएको उल्लेख गरिएको छ । महासंघले यस्तो अभिव्यक्ति प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारविपरीत रहेको भन्दै निर्वाचित जनप्रतिनिधिलाई नसुहाउने व्यवहार भएको टिप्पणी गरेको छ ।
महासंघले समाचार सामग्रीप्रति असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाअनुसार समाधान खोज्नुपर्ने उल्लेख गर्दै फौजदारी मुद्दाको स्वरूप दिएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु आपत्तिजनक भएको जनाएको छ । प्रेससँग सम्बन्धित विवाद प्रेस काउन्सिल नेपालमार्फत समाधान गर्नुपर्ने महासंघको धारणा छ ।
यसैबीच नेपाल पत्रकार महासंघले बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको अन्तरिम आदेशप्रति पनि चिन्ता व्यक्त गरेको छ । महासंघ काठमाडौं शाखाका अनुसार उक्त अनलाइनमा प्रकाशित समाचार हटाउन सम्पादकका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।
महासंघले कुनै पनि समाचारप्रति असन्तुष्टि भए त्यसको छानबिन र सुनुवाइ गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको उल्लेख गर्दै विपक्षी पक्षको सुनुवाइबिनै एकतर्फी आदेश जारी हुनु प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको जनाएको छ ।
महासंघले सम्बन्धित निकायलाई अदालतको आदेश पुनर्विचार गर्न, प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण गर्न तथा भविष्यमा प्रेस स्वतन्त्रताविरोधी गतिविधि नदोहोर्याउन आग्रह गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे