
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयता र संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले रास्वपाले पहिले संघीयता खारेज गर्ने कुरा उठाउने गरेको स्मरण गराएका छन् । अहिले पनि सोही अडानमा छ कि छैन भनेर उनले प्रश्न गरेका हुन् ।
बास्कोटाले संविधान संशोधन गर्ने हो भने अहिलेको संघीय संरचनामा ठूलो परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार केन्द्र र स्थानीय तह मात्रै रहने व्यवस्था हुनुपर्छ र प्रदेश संरचना हटाइनुपर्छ । उनले जिल्ला समन्वय समिति (जिसस) आवश्यक नभएको पनि बताएका छन् ।
त्यस्तै, राष्ट्रिय सभामा १०५ सिट राख्नुपर्ने र पूर्ण रूपमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न महिला र पुरुषको समान ५०–५० प्रतिशत सहभागिता हुनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको सभाध्यक्ष बनाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
बास्कोटाले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । उनका अनुसार प्रतिनिधिसभामा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था उपयुक्त हुने बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे