
काठमाडौँ, १७ जेठ । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो ।
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे