
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। यो रकम स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिएबापतको दाबी भुक्तानी र अघिल्लो पेश्की रकम समायोजन गरेर पठाइएको हो।
बोर्डका अनुसार अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि असार ८ गतेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित अस्पतालहरूको बैंक खातामा पठाइएको छ। यसले अस्पतालहरूले बीमित बिरामीलाई दिएको सेवाको भुक्तानी सुनिश्चित गरेको छ।
आर्थिक वर्ष २०८१र८२ र २०८२र८३ का लागि कुल २७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। अघिल्लो वर्ष दिइएको करिब ४ अर्ब ३६ करोड रुपैयाँ पेश्की रकम पनि हिसाब मिलान गरी फर्छ्यौट गरिएको छ।
भुक्तानी गर्दा स्वीकृत रकमको २ प्रतिशत कट्टा गरेर बाँकी रकम मात्र पठाइएको हो। यस भुक्तानीपछि अघिल्लो आर्थिक वर्षका सबै स्वीकृत दाबी र चालु वर्षको साउनदेखि मंसिरसम्मका दाबी भुक्तानी पूरा भएको बोर्डले जनाएको छ।
सबैभन्दा धेरै रकम भरतपुर अस्पतालले ७ करोड ११ लाख पाएको छ। त्यसपछि पोखरा, बुटवल, चितवन र काठमाडौंका प्रमुख अस्पतालहरूले पनि करोडौँ रुपैयाँ प्राप्त गरेका छन्। यस भुक्तानीले अस्पतालहरूको आर्थिक व्यवस्थापन सहज हुने र स्वास्थ्य सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे