
काठमाडौँ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक ग्यास प्लान्टमा भएको भीषण विस्फोटमा परी ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन्।
कतारी अधिकारीहरूका अनुसार विस्फोटपछि प्लान्ट परिसरमा ठूलो आगलागी भएको थियो। घटनाको जानकारी पाएलगत्तै उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको र केही समयको प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ।
कतारको गृह मन्त्रालयले जारी गरेको विवरणअनुसार घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। प्रारम्भिक अनुसन्धानले विस्फोट प्राविधिक कारणबाट भएको हुन सक्ने देखाएको मन्त्रालयले जनाएको छ।
अधिकारीहरूले घटनापछि आसपासको क्षेत्रमा कुनै गम्भीर ग्यास चुहावट नभएको स्पष्ट पारेका छन्। सार्वजनिक सुरक्षामा थप जोखिम नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायहरूले निरन्तर निगरानी गरिरहेका छन्।
बेपत्ता व्यक्तिहरूको खोजीका लागि कतार इन्टरनेशनल सर्च एन्ड रेस्क्यू ग्रुप तथा नागरिक रक्षा टोली संयुक्त रूपमा परिचालन गरिएको छ। घटनाबाट ग्यास आपूर्ति संरचनामा परेको क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज राजधानी दोहासम्म सुनिएको थियो। घटनापछि कतारी अधिकारीहरूले दुर्घटनाको विस्तृत अनुसन्धान अघि बढाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे