
काठमाडौँ, १७ जेठ । तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना हुँदा जहाजमा सवार सबैको मुत्यु भएको थियो ।
सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाज वरपर छरिएको अवस्थामा २१ जनाको शव हिजो नै भेटिएको थियो । त्यसमध्ये १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ। दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् ।
कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए।
विमानमा १३ जना नेपाली, ६ जना विदेशी यात्रु र तिन जना चालकदलका सदस्यसहित २२ जना सवार थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे