
काठमाडौं । मोरङको रानीदेखि संखुवासभाको किमाथाङ्कासम्म जोड्ने कोशी करिडोर सडक आयोजनाको निर्माण कार्य लक्ष्यअनुसार अघि बढ्न नसकेको पाइएको छ। २०६५/६६ मा सुरु भएको आयोजना २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि अवधि पटक–पटक थपिँदै अब २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
आयोजनाअन्तर्गत संखुवासभाको खाँदवारीदेखि किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति र २३ वटा पुल निर्माण गर्ने योजना रहेको छ। प्रारम्भिक रूपमा ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना संशोधनपछि १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा १ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ। यससँगै हालसम्म आयोजनामा कुल ६ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
हालसम्म १६२ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ भने १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यस्तै, निर्माणाधीन २४ वटा पुलमध्ये १० वटा पुल निर्माण सम्पन्न भएका छन्।
यद्यपि, आयोजना सुरु भएको करिब १७ वर्ष बितिसक्दा पनि यस आर्थिक वर्षसम्म भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४१.२५ प्रतिशतमा मात्रै सीमित रहेको प्रतिवेदनले देखाएको छ। आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा लागत वृद्धि र निर्माण अवधि लम्बिने क्रम जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे