
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गरेको छ।
बैंकले विद्यालयमा अभिभावक तथा सेवाग्राहीका लागि व्यवस्थित प्रतीक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी (ह्वाइट बोर्ड) हस्तान्तरण गरेको जनाएको छ।
आयोजित कार्यक्रममा बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै भण्डारीले विद्यालयमा अभिभावक, सेवाग्राही तथा समुदायका सदस्यहरूको नियमित आवतजावत हुने भएकाले उनीहरूका लागि सहज, व्यवस्थित र सम्मानजनक प्रतीक्षास्थल निर्माणमा बैंकले सहयोग गरेको बताए।
शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले बैंकले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा अन्य सेवाग्राहीका लागि थप व्यवस्थित र सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा शिक्षा, सामाजिक विकास तथा समुदाय केन्द्रित संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे