
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको छ। निरन्तर वर्षाका कारण सडक निर्माण कार्य प्रभावित भएपछि निर्माण कम्पनीले पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नुपर्ने अवस्था आएको भन्दै सडक बन्द नगर्ने निर्णय गरिएको हो।
धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा पहिलो चरणको कालोपत्रे (डिबीएम) कार्यलाई तीव्रता दिन आजदेखि आगामी १५ दिनसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने योजना बनाइएको थियो। तर, लगातारको वर्षाले सडकमा तयार गरिएको सब–बेस, सिटिबी (CTB) र डिबीएम (DBM) का लागि गरिएको तयारीमा क्षति पुगेपछि निर्माण कार्य तत्काल अघि बढाउन नसकिने निष्कर्षमा पुगेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
सडक डिभिजन कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले शुक्रबार नै कार्यालयलाई पत्राचार गर्दै प्रतिकूल मौसमका कारण निर्धारित निर्माण तालिका परिवर्तन गर्नुपर्ने जानकारी गराएको हो। वर्षाका कारण केही स्थानमा सब–बेस बग्नुका साथै सडक संरचनामा क्षति पुगेकाले आवागमन बन्द गरेर गर्ने भनिएको कालोपत्रे कार्य केही समयका लागि स्थगित गरिएको उनले बताए।
यसअघि जिल्ला सुरक्षा समिति काभ्रेले धुलिखेल–खावा सडकखण्डमा असार २० गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। सो अवधिमा टिपर र ठूला मालवाहक ट्रकको प्रवेश पूर्ण रूपमा रोक्ने तथा अन्य यात्रुबाहक र मालवाहक सवारीसाधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो।
डिभिजन सडक कार्यालयले असारको दोस्रो सातादेखि नै रातिको समयमा सवारी सञ्चालन रोक्दै निर्माण कार्यलाई तीव्रता दिने योजना बनाएको भए पनि आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यसलाई केही समय पछि सारिएको थियो।
करिब चार किलोमिटर लम्बाइ रहेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य यसअघि पनि चरणबद्ध रूपमा अघि बढाइएको थियो। गत चैत महिनामा करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी यातायात सञ्चालन गरेर करिब अढाई किलोमिटर सडकमा डिबीएम र पिचको काम सम्पन्न गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे