
काठमाडौं । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य दूरसञ्चारसम्बन्धी सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पुग्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बुधबार भएको सम्झौताअनुसार आगामी साउन १ गतेदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
सम्झौताअनुसार नेपाल टेलिकमले उपलब्ध गराउने सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री हुलाक सेवामार्फत देशभर ढुवानी गरिनेछ। यस व्यवस्थापछि सेवाग्राहीले कम्पनीको कार्यालयमा पुग्नुपर्ने झन्झटबिना आवश्यक सामग्री आफ्नै घरमा प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनी ले हस्ताक्षर गरेका छन्।
सम्झौता समारोहमा बोल्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई विभिन्न सेवा उपलब्ध गराउने नीति अवलम्बन गर्दै आएको बताइन्। हुलाक सेवा विभागसँगको सहकार्यले ग्राहकलाई थप सहज, छिटो र पहुँचयोग्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यअनुरूप विभागले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्य त्यसैको अर्को महत्वपूर्ण कदम भएको बताइन्। आगामी दिनमा दुवै संस्थाबीचको सहकार्य अझ सुदृढ हुँदै सेवाग्राहीलाई थप प्रभावकारी सेवा प्रदान गरिने उनको भनाइ थियो।
सरकारी स्वामित्वका दुई प्रमुख संस्थाबीच भएको यो सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालमार्फत नेपाल टेलिकमका सेवा तथा सामग्रीको वितरणलाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ। साथै, यस व्यवस्थाले डिजिटल सेवा प्रवाहलाई सहज बनाउँदै दुर्गम क्षेत्रका सेवाग्राहीसमेत प्रत्यक्ष लाभान्वित हुने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे