
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ का थप तीन खेल सम्पन्न हुँदा स्पेन, पोर्चुगल र स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। स्पेन र स्विट्जरल्यान्डले सहज जित निकाले भने पोर्चुगलले इन्जुरी समयको नाटकीय गोलमा क्रोएसियालाई पराजित गर्दै नकआउट यात्रालाई निरन्तरता दिएको हो।
स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ। सुरुदेखि नै खेलमा पूर्ण नियन्त्रण कायम गरेको स्पेनका लागि मिकेल ओयार्जाबालले ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ६६औँ मिनेटमा पेड्रो पोरोले उत्कृष्ट फिनिसमार्फत अग्रता दोब्बर बनाए। खेलको ८९औँ मिनेटमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको शानदार जित सुनिश्चित गरे। यससँगै स्पेनले अन्तिम १६ मा छिमेकी राष्ट्र पोर्चुगलसँग भेट पक्का गरेको छ।
अर्को रोमाञ्चक प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इभान पेरिसिचले ५३औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि पोर्चुगलले टोलीमा परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गर्यो। ६८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई विश्राम दिँदै टोलीको मध्यपङ्क्तिलाई मजबुत बनाएका थिए।
खेल इन्जुरी समयतर्फ अग्रसर भइरहेका बेला ९४औँ मिनेटमा राफाएल लेओको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले शक्तिशाली हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए। अतिरिक्त समयमा क्रोएसियाले बराबरी गोल फर्काएको जस्तो देखिए पनि भीएआरमार्फत अफसाइड पुष्टि भएपछि गोल मान्यता पाएन र पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा पुग्यो।
दिनको अर्को खेलमा स्विट्जरल्यान्डले अल्जेरियामाथि २–० को सहज जित निकाल्यो। खेलको १०औँ मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको एक मिनेटमै डान एनडोयेले अर्को गोल थपेपछि स्विस टोलीले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। अल्जेरियाले रियाद महरेजको नेतृत्वमा पुनरागमनको प्रयास गरे पनि स्विट्जरल्यान्डको संगठित रक्षापङ्क्ति भेद्न सकेन।
यससँगै स्विट्जरल्यान्डले सन् १९३८ यताकै पहिलो विश्वकप नकआउट जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब उसले कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अब अन्तिम १६ मा विश्व फुटबलका दुई शक्तिशाली युरोपेली राष्ट्र स्पेन र पोर्चुगल आमनेसामने हुने भएका छन्, जुन यस चरणकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धामध्ये एक मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे