
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको मतमा राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको पनि महत्वपूर्ण योगदान रहेको दाबी गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले विभिन्न राजनीतिक धारणा बोकेका नागरिकहरूले परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गरे। उनले रास्वपाले प्राप्त जनमतभित्र राजसंस्था आवश्यक रहेको विश्वास गर्ने मतदाताको समेत हिस्सा रहेको भन्दै जनताको विविध चाहनालाई सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरे।
‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा होला, रास्वपाले पाएको मतमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको मत पनि समावेश छ,’ लिङ्देनले भने, ‘राजा चाहिन्छ भन्नेहरूको आफ्नै पार्टी हुँदाहुँदै पनि केही मतदाताले फरक अपेक्षा राखेर रास्वपालाई मत दिएका छन्।’
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को लोकप्रियतासँग जोडिएका अपेक्षाका कारण पनि कतिपय राजावादी मतदाता रास्वपातर्फ आकर्षित भएको दाबी गरे। जनताले परिवर्तन, सुशासन र वैकल्पिक राजनीतिक अभ्यासको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गर्दै उनले उक्त जनविश्वासलाई सम्बोधन गर्नु पार्टीको विशेष जिम्मेवारी भएको बताए।
लिङ्देनले जनमतको सम्मान गर्दै नागरिकका आकांक्षा पूरा गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे