
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत हुने निर्वाचनको तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशनदेखि मतदानसम्मका विभिन्न चरणको कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका अनुसार शनिबार राति महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। अन्तिम नामावली भने आइतबार राति ११ बजे प्रकाशन गरिनेछ।
निर्वाचन तालिकाअनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण सुरु हुनेछ। सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने समय दिइनेछ। दाबी–विरोधमाथि ७ बजेदेखि ९ बजेसम्म छानबिन गरिने आयोगले जनाएको छ। उम्मेदवारले नाम फिर्ता लिनका लागि राति ९ बजेर १५ मिनेटसम्मको समय पाउनेछन्।
उम्मेदवारको अन्तिम नामावली सोमबार राति ११ बजे प्रकाशन गरिनेछ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार असार ९ गते मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ।
पहिलो चरणको मतदानबाट पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना र परिणाम घोषणा गरिने आयोगले जनाएको छ। त्यसपछि आवश्यकताअनुसार दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
आयोगले सभापति पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क तथा एक जना प्रस्तावक र ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ। त्यस्तै पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क, एक प्रस्तावक र २१ जनाको समर्थन तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्कसहित एक प्रस्तावक र २१ जनाको समर्थन आवश्यक पर्ने व्यवस्था गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशनमा कुल ४ हजार २११ जना प्रतिनिधि सहभागी हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे