
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग आज प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयस्थित सुवर्ण हलमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटका प्रमुख प्राथमिकता, कार्यक्रम तथा कार्यान्वयनका विषयमा धारणा राख्नेछन्।
शुक्रबार संघीय संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटबारे उठेका जिज्ञासाको जवाफ दिन तथा बजेटका विभिन्न पक्षबारे थप स्पष्ट पार्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ। कार्यक्रममा सञ्चारकर्मीहरूले बजेटका नीति, कार्यक्रम, राजस्व व्यवस्थापन, विकास खर्च तथा आर्थिक सुधारसँग सम्बन्धित विषयमा प्रश्न राख्न सक्नेछन्।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। उक्त बजेटमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत चालु खर्चतर्फ, ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत पुँजीगत खर्चतर्फ तथा ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।
सरकारले सुशासन, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवर्द्धन तथा सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ। आजको अन्तरक्रियामा बजेटका यिनै प्राथमिकता तथा कार्यान्वयन रणनीतिबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे