
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा र आर्थिक विकासका लागि जलाशययुक्त जलविद्युत् आयोजना आवश्यक रहेको बताए । आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुग्नुभएका मन्त्री श्रेष्ठले अब सरकारले यस्ता आयोजनालाई प्राथमिकतामा राख्ने स्पष्ट पारे ।
उनले जलाशययुक्त आयोजना केवल बिजुली उत्पादनका लागि मात्र नभई पानी भण्डारण, बाढी नियन्त्रण, सिँचाइ, पर्यटन प्रवर्द्धन र ऊर्जा आपूर्ति सन्तुलनका लागि पनि महत्वपूर्ण हुने बताउनुभयो । जलवायु परिवर्तनका कारण अनियमित वर्षा र प्राकृतिक जोखिम बढ्दै गएकाले भविष्यमा पानी भण्डारण संरचनाको महत्व अझ बढ्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले उच्च विद्युत् माग हुने समयमा यस्ता आयोजनाबाट बढी विद्युत् उत्पादन गर्न सकिने बताउँदै उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्रमा यसले सहयोग पुग्ने उल्लेख गरे । उनले स्थानीय समस्या समाधान, फोहोर व्यवस्थापन र जलाधार क्षेत्र संरक्षणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।
सन् १९८२ मा निर्माण भएको कुलेखानी नेपालकै पहिलो जलाशययुक्त आयोजना हो । यसको कुल क्षमता १०६ मेगावाट रहेको छ र यसले राष्ट्रिय विद्युत् प्रणाली सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे