
काठमाडौं। सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख व्यवस्थापन प्रणाली प्रभावकारी हुन नसकेको पाइएको छ। सामाजिक सुरक्षा ऐन, २०७५ को प्रावधानअनुसार लाभग्राहीहरूको अभिलेख व्यवस्थापन तथा भत्ता वितरणको अनुगमन अनिवार्य भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको हो।
उपलब्ध तथ्याङ्कअनुसार सामाजिक सुरक्षा भत्तामा २०७९।८० मा करिब एक खर्ब आठ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो। सो रकम २०८०।८१ मा १.६८ प्रतिशतले वृद्धि भई करिब एक खर्ब १० अर्ब १९ करोड रुपैयाँ पुगेको देखिन्छ। चालु वर्षमा मात्र ३८ लाखभन्दा बढी लाभग्राहीलाई करिब एक खर्ब १४ अर्ब रुपैयाँ भत्ता निकासा गरिएको छ।
यद्यपि भत्ता वितरण प्रणालीमा आवश्यक डिजिटल ट्र्याकिङ तथा प्रभावकारी अनुगमन संयन्त्र विकास हुन नसकेको प्रतिवेदनले देखाएको छ। लाभग्राहीको मृत्यु वा अयोग्यता पछि पनि खातामा रकम जाने जोखिम कायम रहेको उल्लेख गरिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भत्ता वितरणको बैङ्किङ अभिलेखलाई व्यवस्थित रूपमा ट्र्याक गर्ने प्रणाली विकास गर्न नसकेको पाइएको छ। साथै, भत्ता वितरणको नियमित अनुगमन प्रभावकारी रूपमा नभएकाले प्रणालीगत कमजोरी देखिएको छ।
सामाजिक सुरक्षा कार्यक्रमलाई पारदर्शी, दुरुपयोगरहित र प्रभावकारी बनाउन डिजिटल अभिलेख प्रणाली सुदृढ गर्न, लाभग्राही अद्यावधिक गर्न तथा नियमित अनुगमन प्रणाली विकास गर्न आवश्यक रहेको सुझाव दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे