
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तर मापदण्ड पूरा नगरेका खाद्य वस्तु बजारबाट हटाउन कडाइ सुरु गरेको छ । विभागले परीक्षणका क्रममा गुणस्तरहीन पाइएपछि यशोधा फुड्स प्रालि द्वारा उत्पादित दुई प्रकारका चाउचाउ तथा एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित बिस्कुट तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार १०० ग्राम प्याकेटको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ परीक्षण सन्तोषजनक नदेखिएको हो । खाद्य पदार्थमा प्रयोग हुने तेल तथा बोसोको गुणस्तर मापन गर्न एसिड भ्यालुको परीक्षण गरिने विभागले जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी वा न्यून गुणस्तर देखिएमा त्यस्ता खाद्य वस्तु उपभोगका लागि अनुपयुक्त मानिने विभागको भनाइ छ ।
विभागले ती उत्पादन तत्काल बिक्री वितरण रोक्न, बजारबाट संकलन गरी फिर्ता गर्न तथा आवश्यक सुधार नगरेसम्म पुनः उत्पादन नगर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ । साथै, उपभोक्तालाई पनि ती उत्पादन खरिद तथा उपभोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ पनि गुणस्तर परीक्षणमा मापदण्डअनुरुप नपाइएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ । विभागका अनुसार नियमित बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा उक्त बिस्कुट गुणस्तरहीन पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
विभागले पछिल्लो समय बजारमा बिक्री हुने खाद्य वस्तुको नियमित नमुना संकलन तथा प्रयोगशाला परीक्षणलाई तीव्र बनाएको जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा गुणस्तर मापदण्ड उल्लंघन गर्ने उद्योग तथा उत्पादकमाथि कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे