
काठमाडौँ । देशका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।
सूचनाअनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्न आग्रह गरिएको छ । आवेदनका लागि आवश्यक विवरण तथा प्रक्रिया मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार पूरा गर्नुपर्ने जनाइएको छ ।
सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि रिक्त बनेका पदमा नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो । उपकुलपति नियुक्तिसम्बन्धी एकीकृत कार्यविधि वैशाख २४ गते स्वीकृत गरिएको थियो । उक्त कार्यविधि शिक्षा मन्त्रालयमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।
विश्वविद्यालयहरूमा नेतृत्व रिक्त रहेपछि शैक्षिक तथा प्रशासनिक गतिविधिमा प्रभाव परेको भन्दै सरकारले नयाँ नियुक्ति प्रक्रियालाई तीव्रता दिएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे