
काठमाडौं । संघीय संसद् अन्तर्गतका ८ वटा संसदीय समितिको बैठक आज बस्दैछ । विभिन्न समितिले सरकारका कामकारबाही, आगामी योजना र समसामयिक विषयमा छलफल गर्ने भएका हुन् ।
संसद सचिवालयका अनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयले हालसम्म गरेका काम, आगामी योजना, चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे छलफल हुनेछ ।
उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बिहान साढे १० बजे विषयगत उपसमिति गठनबारे छलफल गर्नेछ । पूर्वाधार विकास समितिमा सडक सुरक्षा र मनसुनको समयमा सवारी व्यवस्थापनबारे छलफल हुने कार्यसूची छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगका पदाधिकारीसँग आयोगको कामकारबाहीबारे छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे छलफल गर्नेछ ।
सार्वजनिक लेखा समितिमा समितिकै विषयमा प्रस्तुतीकरण हुने जनाइएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूमिहीन नागरिकका लागि बनाइएका होल्डिङ्ग सेन्टरको अनुगमनबारे छलफल गर्नेछ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गण्डकी प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने संसद सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे