
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा नतिजा शुक्रबार साँझ साढे पाँच बजे सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले पहिलो चरणको बैठक सम्पन्न भइसकेको र दोस्रो बैठकपछि नतिजा प्रकाशन गरिने जानकारी दिएका छन् ।
बोर्डका अनुसार अपराह्न चार बजे बस्ने दोस्रो बैठकले नतिजालाई अन्तिम स्वीकृति दिएपछि साँझ साढे पाँच बजे औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने भएको छ । परीक्षा बोर्डले नतिजा सार्वजनिकसँगै विद्यार्थीहरूले विभिन्न विद्युतीय माध्यममार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा ७ चैतदेखि सञ्चालन गरिएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ तथा श्रेणीवृद्धितर्फ ६७ हजार ७ सय १५ विद्यार्थी सहभागी भएका थिए । यससँगै परीक्षामा सहभागी कुल विद्यार्थी संख्या ४ लाख ९९ हजार १ सय ८३ पुगेको बोर्डले जनाएको छ ।
परीक्षाको नतिजा सार्वजनिक हुने समय नजिकिँदै जाँदा देशभरका विद्यार्थी तथा अभिभावकमाझ उत्सुकता बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे