
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गरी वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित दुईदिने कार्यशालामा दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ पहुँच, वित्तीय व्यवस्थापन तथा सुरक्षित डिजिटल कारोबारसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य निर्धारण, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार तथा डिजिटल ठगीबाट जोगिने उपायबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा हस्ताक्षर तालिमलाई विशेष प्राथमिकता दिइएको थियो । बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षरसम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको बैंकले जनाएको छ । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले समावेशी बैंकिङतर्फ कामना सेवा विकास बैंकले थालेको पहल प्रशंसनीय रहेको बताउनुभयो । उहाँले वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम दृष्टिविहीन समुदायका लागि उपयोगी र प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।
सर्वोदय परियोजनाकै सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भए पनि अन्य व्यक्तिहरूसरह बैंकिङ सेवा सुरक्षित रूपमा प्रयोग गरिरहेको अनुभव साझा गर्नुभयो । उहाँले सहज पहुँचयुक्त बैंकिङ सेवाले दृष्टिविहीन समुदायको आत्मविश्वास बढाएको बताउनुभयो ।
कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ । उक्त खातामार्फत मोबाइल बैंकिङ, एटिएम कार्डलगायतका सुविधा सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै, खाता खोल्न दृष्टिविहीन भएकै आधारमा अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने तथा खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
कार्यक्रमको समापनमा बैंकका ब्रान्डिङ तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख पौडेलले आगामी दिनमा यस्ता तालिमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकले यस्ता कार्यक्रममार्फत वित्तीय पहुँच विस्तारसँगै सामाजिक समावेशिता र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे