
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्रमा विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान हुनुपर्ने बताएका हुन् ।
प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई संकेत गर्दै पोखरेलले सरकारले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले निर्णय गर्न खोजेको आरोप लगाएका छन् । उनका अनुसार सरकार एउटा निरन्तर चलिरहने संस्था भएकाले व्यक्तिगत वा राजनीतिक रिसइबीका आधारमा निर्णय गर्नु उचित नहुने बताएका छन् ।
पोखरेलले यस्ता गतिविधिले राज्यका संस्थामा अस्थिरता पैदा गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पर्ने चेतावनी दिएका छन् । उनले संस्थागत प्रक्रियालाई कमजोर बनाउने कामले अधिनायकवादतर्फ जाने खतरा बढाउन सक्ने पनि बताएका छन् ।
उनका अनुसार लोकतन्त्र बलियो बनाउन कानुनी प्रक्रिया, संविधान र स्थापित अभ्यासको सम्मान आवश्यक हुन्छ । सरकारले ती आधारलाई कमजोर पार्ने काम गरे त्यसले दीर्घकालीन रूपमा देशको शासन प्रणालीमै असर पार्न सक्ने उनको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे