
काठमाडौँ । प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका न्यायाधीशहरूमध्ये डा. मनोजकुमार शर्माले सबैभन्दा बढी मुद्दा तथा निवेदन फछ्र्यौट गरेको तथ्य सार्वजनिक भएको छ । सर्वोच्च अदालतले तयार पारेको ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना मूल्यांकन प्रतिवेदन’अनुसार २०७६ साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा शर्माले ७ हजार ३ सय ८८ वटा मुद्दा तथा निवेदन किनारा लगाएका छन् ।
प्रतिवेदनअनुसार शर्मापछि सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश हरिप्रसाद फुयाल रहेका छन् । उनले उक्त अवधिमा ६ हजार ५ सय २६ मुद्दा किनारा लगाएका छन् । त्यसैगरी कुमार रेग्मीले ६ हजार २ सय २६, तिलप्रसाद श्रेष्ठले ५ हजार ९ सय ९२, नहकुल सुवेदीले ४ हजार ९ सय ६९ तथा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ४ हजार ६ सय ७१ मुद्दा फछ्र्यौट गरेकी छन् ।
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रस्तावित ६ न्यायाधीशमध्ये सबैभन्दा बढी मुद्दा किनारा लगाउने डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ । प्रतिवेदनअनुसार शर्माले आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार १ सय ८१ मुद्दा फछ्र्यौट गरेका छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा १ हजार ६ सय ४६, २०७७/७८ मा ५ सय ९४, २०७८/७९ मा १ हजार १० तथा २०७९/८० मा १ हजार ९ सय ५७ मुद्दा किनारा लगाएका छन् ।
प्रतिवेदनमा पछिल्ला दुई आर्थिक वर्षमा न्यायाधीशहरूको मुद्दा फछ्र्यौट दर उल्लेख्य रूपमा बढेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा तिलप्रसाद श्रेष्ठले सबैभन्दा बढी २ हजार ४ सय ८१ मुद्दा किनारा लगाएका थिए भने २०८०/८१ मा उनले २ हजार ७ सय ४६ मुद्दा फछ्र्यौट गर्दै एकै वर्ष सबैभन्दा धेरै मुद्दा किनारा लगाउने न्यायाधीश बनेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा नहकुल सुवेदीले २ हजार ३ सय ७९, हरिप्रसाद फुयालले २ हजार २ सय ३२, डा. शर्माले २ हजार १ सय ८१ तथा कुमार रेग्मीले १ हजार ८ सय ६६ मुद्दा फछ्र्यौट गरेका छन् । सोही अवधिमा सपना प्रधान मल्लले १ हजार ४ सय ७१ मुद्दा किनारा लगाएकी छन् ।
सर्वोच्च अदालतले न्यायपालिकाको कार्यसम्पादनलाई पारदर्शी बनाउने तथा न्यायाधीशहरूको क्षमता मूल्यांकन गर्ने उद्देश्यले यस्तो विवरण सार्वजनिक गर्दै आएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे