
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा घरजग्गा, सुनचाँदी, नगद बचत तथा शेयर लगानी रहेको जानकारी दिएका छन्।
विवरण अनुसार काठमाडौँको टोखा क्षेत्रमा उनकी पत्नी कामना शर्मा पण्डितको नाममा करिब २ करोड २० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको छ, जसको स्रोत पारिवारिक आय, निजी आम्दानी तथा बैंक ऋण भएको उल्लेख गरिएको छ।
त्यसैगरी सामाखुसीमा आमा गौरी पण्डितको नाममा रहेको साढे दुई तलाको आवासीय घर पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ। बुबाको नाममा पनि काठमाडौँमै जग्गा रहेको विवरणमा समेटिएको छ।
अन्य सम्पत्तिमा तारकेश्वर क्षेत्रमा पत्नीको नाममा करिब ६९ लाख रुपैयाँ मूल्य बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा करिब १० लाख रुपैयाँको जग्गा तथा रुपन्देहीमा भाइ बुहारी अनिता गौतमको नाममा करिब ४० लाख रुपैयाँ मूल्यको जग्गा रहेको जनाइएको छ।
पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी तथा करिब २ लाख रुपैयाँ मूल्य बराबरको हिरा रहेको विवरणमा उल्लेख छ। यी सम्पत्तिहरू पारिवारिक आम्दानी, व्यक्तिगत आर्जन तथा सामाजिक अवसरहरूमा प्राप्त उपहारबाट संकलित भएको बताइएको छ।
वित्तीय विवरणअनुसार उनका विभिन्न बैंक तथा कोषहरूमा समेत बचत रहेको छ। नेपाल राष्ट्र बैंकमा करिब १ करोड ९ लाख, वाणिज्य बैंकमा करिब १ करोड ११ लाख, कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार तथा विदेशी मुद्रा खातामा ७ हजार ८५६ अमेरिकी डलर बचत रहेको उल्लेख छ।
त्यस्तै, पण्डितको विभिन्न क्षेत्रमा शेयर लगानी रहेको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, जलविद्युत क्षेत्रमा ३ हजार ६०६ कित्ता तथा बीमा क्षेत्रमा ३६ कित्ता शेयर लगानी रहेको विवरणमा उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे