
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य सेवातर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले पछिल्लो समय सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीहरूले निकै दुःख पाएको बताएका छन्। उनका अनुसार यस्तो अवस्थाले सर्वसुलभ हुनुपर्ने सरकारी स्वास्थ्य सेवा झन् कठिन भएको छ र बिरामीहरूलाई निजी अस्पताल जान बाध्य बनाउँदै आर्थिक बोझ पनि बढाएको छ। पौडेलले सामाजिक सञ्जालमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै ओपीडी सेवा नरोकिने व्यवस्था गर्न आग्रह गरेका छन्। उनले भनेका छन् कि स्वास्थ्य सेवा सबै नागरिकका लागि सहज र निरन्तर हुनुपर्छ, बिदा भनेर बन्द हुनु हुँदैन।
उनले आफ्नो कार्यकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुँदा केही सुधारका काम सुरु गरिएको पनि स्मरण गराएका छन्। जस्तै, बिदाका दिन पनि सेवा सञ्चालन गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन दिने व्यवस्था गरिएको थियो। त्यस्तै, बिरामीको चाप धेरै हुने अस्पतालहरूमा ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने योजना ल्याइएको थियो, जसले सेवा समय बढाउने लक्ष्य राखेको थियो।
पौडेलले स्वास्थ्यकर्मीलाई थप सुविधा दिने, नयाँ जनशक्ति भर्ना गर्ने र सेवा विस्तार गर्ने काम पनि अघि बढाइएको बताएका छन्। उनका अनुसार, करिब २५०० नयाँ स्वास्थ्यकर्मी थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। अन्त्यमा उनले स्वास्थ्य सेवा संवेदनशील विषय भएकाले यसलाई झन् विस्तार गर्नुपर्ने र विगतमा सुरु गरिएका सुधारलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे