
काठमाडौं । रूकुम पश्चिमस्थित एक माध्यमिक विद्यालयमा करिब १० लाख ७५ हजारभन्दा बढी रकम हिनामिना भएको आरोपमा प्रधानाध्यापकसहित सम्बन्धित कर्मचारी तथा पदाधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्राप्त उजुरीमाथि गरिएको अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत खरिद गरिएको भनिएका सामग्री विद्यालयमा आपूर्ति नै नगरी झुट्टा बिलका आधारमा भुक्तानी गरिएको पाइएको छ।
त्यस्तै, सूचना प्रविधिसम्बन्धी सामग्री सञ्चालनका लागि तालिम आयोजना गरेको भन्दै रकम निकासा गरिएको भए पनि तालिम सञ्चालन नगरी झुट्टा कागजात तयार गरी रकम हिनामिना गरिएको खुलेको छ। साथै, विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट संकलित शुल्कसमेत बैंक दाखिला नगरी दुरुपयोग गरिएको अनुसन्धानबाट देखिएको छ।
यसैगरी, बेरुजु फर्छ्यौटको नाममा खाताबाट रकम निकालेर पुनः जम्मा गरी भ्रामक विवरण प्रस्तुत गरिएको तथा बिना उद्देश्य रकम झिकिएको तथ्यसमेत उजागर भएको छ। समग्रमा विभिन्न शीर्षकमा गरी १० लाख ७५ हजारभन्दा बढी रकम हिनामिना, हानि–नोक्सानी तथा दुरुपयोग भएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे