
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलमा महत्वपूर्ण नेतृत्व परिवर्तन हुने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले आगामी सेप्टेम्बर १ देखि औपचारिक रूपमा जिम्मेवारी छोड्दै नेतृत्व जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ। कुकले पद त्यागेपछि कम्पनीमै कार्यकारी अध्यक्षका रूपमा सक्रिय रहने योजना सार्वजनिक गरिएको छ। सन् २०११ देखि कम्पनीको नेतृत्व सम्हाल्दै आएका कुकले आफ्नो कार्यकालमा एप्पललाई ऐतिहासिक उचाइमा पुर्याएका थिए।
उनको नेतृत्वमा कम्पनी विश्वकै पहिलो तीन ट्रिलियन डलर मूल्यांकन पार गर्ने प्रविधि कम्पनी बनेको थियो। उनले एप्पल घडी, एयरपड्स तथा स्वदेशी सिलिकन चिपजस्ता नवीन उत्पादनमार्फत कम्पनीको व्यवसायिक दायरा र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेका थिए।
नयाँ प्रमुख कार्यकारी बन्न लागेका टर्नस हाल कम्पनीको हार्डवेयर इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत छन् र करिब २५ वर्षदेखि कम्पनीसँग आबद्ध अनुभवी प्राविधिक नेतृत्वकर्ता हुन्। उनको नेतृत्वमा कम्पनीले आगामी दिनमा प्रविधि रणनीतिमा नयाँ दिशा लिने अपेक्षा गरिएको छ। कुकले महान आविष्कारक स्टिभ जब्सपछि एप्पलको नेतृत्व सम्हाल्दै दीर्घकालीन स्थायित्व र तीव्र वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे