
काठमाडौँ । संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका एक नेपाली नागरिकको राहदानीमा “रोजगारी गर्न निषेध गरिएको” भन्ने टिप्पणी लेखिएको विषय सार्वजनिक भएपछि अध्यागमन प्रशासनमा छानबिन सुरु भएको छ। सो घटनासम्बन्धमा मिति २०८२ वैशाख ३ गतेको निर्णयअनुसार छानबिन समिति गठन गरिएको सम्बन्धित निकायले जनाएको छ।
प्रचलित नीति तथा कानुनअनुसार नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने कुनै व्यवस्था नरहेको स्पष्ट पारिएको छ। तर विभागीय निर्णय र कानुनी प्रावधान विपरीत कार्य भएको देखिएपछि उक्त अभ्यासमा संलग्न दुई जना अध्यागमन अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिम्मेवारी हटाइएको छ।
घटनासम्बन्धी प्रारम्भिक छानबिन जारी रहेको र थप तथ्यहरू संकलन भइरहेको पनि विभागले जनाएको छ। प्रशासनिक प्रक्रियाभन्दा बाहिर गएर गरिएको कुनै पनि कार्यलाई गम्भीर रूपमा लिइएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
अध्यागमन प्रशासनले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन कार्यप्रणाली सुधार र कडाइका साथ अनुगमन गरिने जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे