
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले संयुक्त समितिसहित १० वटा संसदीय समितिका सभापतिका उम्मेदवार चयन गरेको हो।
बैठकले पार्टीको संसदीय नेतृत्व संरचना सुदृढ बनाउने निर्णयसमेत गरेको छ। सोही क्रममा मुख्य सचेतक र दुई जना सचेतक चयन गरिएको छ।
निर्णयअनुसार मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन भएका छन्। त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।
रास्वपाले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन नेतृत्व टोली चयन गरिएको जनाएको छ। पार्टीले संसद्भित्र आफ्नो भूमिका थप सशक्त बनाउने लक्ष्यसहित यी निर्णयहरू गरेको बताइएको छ।
संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे निर्णय लिन विपक्षी नेपाली कांग्रेससहितको बैठक सिंहदरबारमा बसिरहेको छ।
सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका हुन् ।
यस बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बे, एमाले सांसद पद्या अर्याल र गुरु बराल, नेकपाका सांसद वर्षमान पुन र युवराज दुलालसहित जुटेका छन्।
यस बैठकबाट सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार पठाउनेबारे निर्णय हुन सक्नेछ ।
संसदीय नियममा लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिइने गरिएको छ । त्यहीकारण तीन दल छलफलमा जुटेका हुन् ।
अर्कातिर प्रचण्ड बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गत १० मा ९ वटा समितिको नेतृत्व आफैँले लिने योजना बनाएको छ।
अर्कातिर लेखा समितिको सभापति पनि उपसभामुख जस्तै श्रम संस्कृति पार्टीलाई दिन रास्वपा तयार रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे