
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय लागू गरेपछि धेरै सरकारी अस्पतालले आइतबार ओपीडी सेवा बन्द गरेका थिए। यसका कारण टाढाबाट उपचारका लागि आएका बिरामीहरू सेवा नपाई फर्किनुपर्ने समस्या देखिएको थियो। जनस्तरबाट व्यापक गुनासो आएपछि मन्त्रालयले निर्णय परिमार्जन गर्दै आइतबार पनि सेवा खुला राख्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार अस्पतालहरूले उपलब्ध जनशक्ति र कामको भार मिलाएर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा दिनुपर्नेछ। साथै, आइतबार काम गर्ने स्वास्थ्यकर्मीलाई साताको अन्य दिन सट्टा बिदा दिन सकिने व्यवस्था गर्न भनिएको छ। बिरामीको चापलाई ध्यानमा राख्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। यस निर्णयले बिरामीलाई सहज रूपमा उपचार सेवा पाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे