
काठमाडौं । रवि लामिछाने नेतृत्वको दलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह विरुद्ध पदको दुरुपयोग भएको निष्कर्ष निकाल्दै उनलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ। केन्द्रीय अनुशासन आयोगको अध्ययन प्रतिवेदनका आधारमा मन्त्री साहले आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराएको आरोप पुष्टि भएको उल्लेख गरिएको छ।
दलका सभापति लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्रमा उक्त कार्यले पार्टीको आदर्श, सिद्धान्त तथा मर्यादामा आँच पुगेको उल्लेख गर्दै आवश्यक कारवाहीको माग गरिएको छ। पत्रअनुसार पार्टी विधानको व्यवस्था बमोजिम पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधान रहेको जनाउँदै मन्त्री साहलाई पदमुक्त गर्न सिफारिस गरिएको हो।
यसैगरी, उक्त विषयमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई सचेत गराउन पनि आग्रह गरिएको छ। केन्द्रीय अनुशासन आयोगबाट प्राप्त प्रतिवेदनसहित प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे