
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटमा विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग भेटघाट गर्दै उहाँले नेपाल सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह ले लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा तस्वीर खिचाउँदै कूटनीतिक सन्देश दिनुभएको छ।
उक्त अवसरमा प्रधानमन्त्री शाहले नेपालले सन्तुलित तथा व्यावहारिक वैदेशिक नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै पारस्परिक विश्वास र लाभमा आधारित सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले नेपालको विकास र समृद्धिका लागि मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
विश्वव्यापी रूपमा भइरहेका द्वन्द्वका कारण सर्वसाधारण नागरिकहरू प्रभावित भइरहेका सन्दर्भमा शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो। उहाँले द्वन्द्व न्यूनीकरण र सहकार्य प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
प्रधानमन्त्री शाहले नेपालमा लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासलाई अघि बढाउने सरकारको नीति रहेको पनि जानकारी दिनुभयो। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा सुदृढ रूपमा समेट्ने लक्ष्य सरकारको रहेको उहाँको भनाइ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे