
काठमाण्डौ। सामाजिक सुरक्षा कोषको कुल सम्पत्ति ३१ असार २०८१ मा ९८ अर्ब २५ करोड ८३ लाख २६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो। तर कोषले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा मात्र निक्षेप राखेको छ, जुन २०७९।८० मा ७०.६४ प्रतिशत र २०८०।८१ मा ८५.५८ प्रतिशत रहेको छ। कोषले लगानी विविधीकरण गरी सोबाट बढी लाभ लिन सकेको छैन।
कोषको आम्दानी र खर्चको समीक्षा गर्दा चिन्ताजनक स्थिति देखिएको छ। दुई वर्षको अवधिमा ६ अर्ब ७ करोड ५४ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी रहेकोमा ३० करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ। आम्दानी घट्दो क्रममा रहे पनि खर्च भने बढ्दो छ। यसैगरी कोषले राष्ट्रिय स्वरको कल्याणकारी कोषबाट प्राप्त रकमको अलग्गै हिसाब राखी वित्तीय विवरण तयार गर्नुपर्ने सुझाव छ।
कोषले सञ्चालन गरेका विभिन्न सुरक्षा योजनाहरूमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा आम्दानीभन्दा खर्च ५ करोड ६१ लाख ५८ हजार रुपैयाँले बढी देखिएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ७३ करोड ५८ लाख ७९ हजार रुपैयाँ बचत देखिएको छ भने वृद्ध अवस्था सुरक्षा योजनामा १२ अर्ब ५३ करोड ५४ लाख ४८ हजार रुपैयाँ बचत रहेको छ।
सूचीकृत संख्या र योगदानको अवस्था हेर्दा, कोषमा २०८०।८१ सम्म १९ हजार २१० रोजगारदाता सूचीकृत भएका छन्। कूल १४ लाख ९१ हजार ५४० श्रमिक सूचीकृत भएकोमा औपचारिक क्षेत्रबाट ५ लाख ११ हजार ९९५, अनौपचारिक क्षेत्रबाट २९५, स्वरोजगारबाट १४४ र वैदेशिक क्षेत्रबाट ९ लाख ७९ हजार १०६ रहेका छन्। वैदेशिक रोजगारीमा जाने ६ लाख १० हजार ३८६ श्रमिकले एक पटकको लागि मात्र रकम जम्मा गरेका छन् तर नियमित योगदान गरेका छैनन्। यसले कोषले ती श्रमिकलाई नियमित योगदानकर्ताको रूपमा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने दुर्बलता देखाएको छ।
कोषले सञ्चालन गरेका सुरक्षा योजनाअन्तर्गत २०८०।८१ मा, कूल ४ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ६२ करोड ७९ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ८८ लाख र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ३ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ भुक्तानी भएको छ। यसैगरी कोषले स्थायी पदपूर्ति नगरी प्रोग्राम सहायकको पदमा लामो समयदेखि करारमा कर्मचारी राख्दै आएको पनि उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे