
काठमाडौं। डोनाल्ड ट्रम्प ले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन्। उनले तोकिएको समयभित्र जलसन्धि नखोलिए अमेरिकाले इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
उक्त जलसन्धि विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने गर्दछ। पछिल्लो समय इरानद्वारा जलमार्गमा अवरोध सिर्जना गरिएको र जहाजहरूमाथि आक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा स्पष्ट रूपमा समयसीमा तोक्दै जलमार्ग पूर्ण रूपमा खुला राख्न माग गरेका छन्। उनले समयसीमा उल्लङ्घन भएमा सबैभन्दा ठूला ऊर्जा केन्द्रलाई लक्षित गर्दै सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन्।
यसबीच इरानी सरकारी सञ्चारमाध्यमले यदि अमेरिकाबाट आक्रमण भएमा खाडी क्षेत्रमा रहेका अमेरिकी स्वार्थसँग सम्बन्धित ऊर्जा संरचनालाई निशाना बनाइने प्रतिक्रिया दिएको छ।
यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ भने विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा समेत असर पर्ने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे