
काठमाडौँ । बालेन्द्र शाहले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावी अभियानमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।
उनले पेश गरेको विवरणमा चुनावका क्रममा गरिएको विभिन्न खर्चहरू समावेश छन्। दुई वटा सवारी साधन १५ दिनसम्म प्रयोग गर्दा इन्धनसहित २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यसैगरी हवाई यात्रामा ३५ हजार रुपैयाँ, खाजामा २८ हजार रुपैयाँ खर्च भएको छ।
घरदैलो अभियानका लागि १५ दिनसम्म वडा स्तरमा कार्यक्रम सञ्चालन गर्दा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्। नमुना मतपत्र छपाइमा ४९ हजार रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र स्टेशनरीमा २२ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यस्तै फ्लेक्स, ब्यानर र स्टिकर जस्ता प्रचार सामग्री छपाइमा करिब २ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले चुनावपछि आफ्नो खर्च विवरण आयोगमा बुझाउनु अनिवार्य छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे