
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयका अनुसार थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ५० हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन्।
उक्त क्षेत्रमा कुल ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ ८ हजार ४३५ मतसहित दोस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार डा. थापा ५० हजार ३८९ मतान्तरले विजयी भएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख ४० हजार ३५ मतदाता रहेकामा ९४ हजार २३२ मत खसेको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय विजय हासिल गरेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे