
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँ बराबरको उपचार सुविधा घटाइएको भन्ने कुरा गलत भएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा गर्दा तिर्ने ३ हजार ५ सय रुपैयाँको योगदानमा पाँच जनाको परिवारले वर्षभरि कुल १ लाख रुपैयाँसम्म उपचार सेवा पाउने व्यवस्था जस्ताको तस्तै छ।
उक्त १ लाखमध्ये २५ हजार रुपैयाँ बाहिरंग (ओपिडी) सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक उपचारका लागि प्रयोग गर्न सकिने छ। पाँच जनाभन्दा बढी परिवार सदस्य भएमा प्रति सदस्य थप ७ सय रुपैयाँ योगदान गर्दा २० हजार रुपैयाँ बराबरको थप सेवा सुविधा पाइने बोर्डले जनाएको छ।
बोर्डका अनुसार अनावश्यक रूपमा ओपिडी सेवा धेरै प्रयोग हुँदा गम्भीर बिरामी वा महँगो उपचारका बेला समस्या हुने भएकाले खर्चको सीमा तोकिएको हो। हाल स्वास्थ्य बिमाको ठूलो हिस्सा सामान्य ओपिडी उपचारमै खर्च भइरहेको छ, जसले जटिल रोगको उपचारमा बजेट नपुग्ने अवस्था देखिएको छ। यस कारण, बोर्डले ओपिडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता सेवामा छुट्याइएको रकम नियमअनुसार प्रयोग गर्न सबै बीमितलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे